Kaski2

विद्या भट्टराई- बहुआयामिक विकासको नेतृत्वकर्ता

विद्या भट्टराई- बहुआयामिक विकासको नेतृत्वकर्ता

विद्या भट्टराई (अधिकारी)लाई एउटा अकल्पनीय र पीडादायी परिस्थितिले राजनीतिमा पुनः होम्यो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसमा प्राध्यापनरत रहँदैका बखत उहाँका पति तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी असामयिक निधन भएपछि उहाँलाई राजनीतिमा होमिनुपर्यो ।

पति राजनीतिकर्ममा, आफू शिक्षण कर्ममा लागेर घरव्यवहारलाई एकनास अघि बढाइरहँदा २०७५ फागुन १४ गते अकल्पनीय दुर्घटनाले विद्यालाई आफ्ना पतिको विरासत धान्ने जिम्मेवारी नेकपा एमालेले दियो । उहाँले शोकलाई शक्तिमा बदल्दै आफ्ना पतिको विकासप्रेम र समृद्ध नेपालको अवधारणालाई आत्मसात गर्ने र अघि बढाउने दृढ संकल्प लिनुभयो ।

आफ्ना पति अधिकारी तीनपटकसम्म माननीय हुँदा उहाँले अवाञ्छित लाभ लिने चाहना नै गर्नुभएन । स्व. अधिकारी कास्कीबाट तीनपटक निर्वाचित हुँदै संविधानसभा, व्यवस्थापिका संसद र संसदीय समितिमा रहेर महत्वपूर्ण भूमिका मात्र निर्वाह गरी सर्वोत्कृष्ट सांसदको उपाधी पाउँदा पनि उहाँ राजनीतिक लाभका लागि कुनै लोभ देखाउनुभएन ।

चाहेको भए विद्याले आफ्नाा पति शक्तिमा रहँदा आफूलाई उच्च ओहदामा स्थापित गराउन कुनै गाह्रो थिएन र उहाँमा जुनसुकै क्षेत्रमा प्रवेश गर्ने योग्यता थियो । तर उहाँले त्यस्तो प्रयास गर्नुभएन । आफ्नो कर्ममा निरन्तर सक्रिय भैरहनुभयो । भट्टराईको यही शालिनता र राजनीतिबाट लाभ लिन हुँदैन भन्ने मान्यताकै नतिजा उहाँ २०७६ मा भएको कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा भारी बहुमतले विजयी हुनुभयो ।

भट्टराईको विजय कास्केली जनताको विकासप्रतिको भोकको परिणाम थियो । आफ्ना पृय नेता अधिकारीको निधनपछि आम जनताले विद्यामा रवीन्द्रको छायाँ देखे त्यो पदचाप पछ्याउने योग्यता र क्षमता देखे । अहिले पनि उहाँ सोही क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ । उहाँको उम्मेद्वारी केवल कास्की क्षेत्र नं. २ को भौतिक विकासका लागि मात्र हैन सिंगो देश विकासका लागि एउटा योग्य र क्षमतावान विधायकका रुपमा स्थापित गर्नु मुलुकको समग्र हितमा समर्पित पात्रको चयन पनि हो ।

सानैदेखि राजनीतिमा होमिए पनि विवाह पश्चात् अध्यापनमा सक्रिय विद्या भट्टराईको अबको जीवन राजनीतिज्ञकै रुपमा नै हुने र एउटा केन्द्रीय जनप्रतिनिधिका रुपमा उहाँले आफूलाई अब्बल स्थानमा राख्न सफल हुने आधारहरु प्रशस्तै छन् । सांसद भएको विगतको छोटो अवधिलाई मूल्यांकन गर्दा आगामी पाँच वर्षमा उहाँमा रहेको राजनीतिक चेत र समाजशास्त्रीय ज्ञानको भरपूर उपयोग हुनेछ ।